आइत, अशोज १९, २०८२

एलपी ग्यास किन्न पाँच वर्षमा बाहिरियो चार खर्ब

एलपी ग्यास किन्न पाँच वर्षमा बाहिरियो चार खर्ब

blog

 पछिल्लो पाँच वर्षमा मुलुकमा खाना पकाउने एलपी ग्यास आयातका लागि चार खर्ब रुपियाँ बाहिरिएको छ ।

नेपाल आयल निगमका अनुसार आर्थिक वर्ष २०७७/७८ देखि आव २०८१/८२ सम्म चार खर्ब पाँच करोड रुपियाँ बराबरको २५ लाख ९३ हजार मेट्रिक टन ग्यास आयात भएको छ । बजारमा खपत बढेसँगै ग्यासको आयातसमेत बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो समय सहरी क्षेत्रमा मात्र नभएर ग्रामीण क्षेत्रमा पनि ग्यासको प्रयोग बढ्दै गएकाले आयातमा समेत वृद्धि भएको हो । सरकारले ग्यासको आयात गर्न विद्युत् खपतमा जोड दिए पनि बिजुली पूर्ण रूपमा भर पर्दो नहुँदा ग्यासकै खपत बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आव २०८१/८२ मा सबैभन्दा धेरै ६२ अर्ब ५५ करोड रुपियाँ बराबरको पाँच लाख ४० मेट्रिक टन ग्यासको आयात भएको छ । अघिल्लो आव २०८०/८१ मा ५५ अर्ब ६१ करोड ८४ लाख रुपियाँ बराबरको पाँच लाख २४ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । एक वर्षको अवधिमा सात अर्ब रुपियाँ बराबरको ग्यासको बढी आयात भएको तथ्याङ्कले देखाएको छ ।

आव २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको छ । निगमका प्रवक्ता मनोजकुमार ठाकुरले ग्यासको खपत बढेसँगै आयात बढ्दै गएको जानकारी दिनुभयो ।

घरायसीसँगै औद्योगिक प्रयोजनमा समेत ग्यासको खपत धेरै हुने गरेको छ । विशेष गरी सिसा, छड र फलाम उद्योगमा एलपी ग्यास प्रयोग हुने गर्छ । मुलुकमा ७० प्रतिशत परम्परागत दाउरा, गुइँठा, बायोग्यास, ३० प्रतिशत ग्यास कोइला, बिजुलीबाट हुन्छ । राष्ट्रिय जनगणना २०७८ अनुसार मुलुकभर ४४ प्रतिशत घरधुरीले ग्यासको प्रयोग गर्ने गरेका छन् ।

छिमेकी मुलुक भारतका विभिन्न रिफाइनरी केन्द्रबाट खाना पकाउने ग्यास आयात हुने गर्छ । मुलुकमा विभिन्न ५५ वटा ग्यास उद्योगले आयात गरी बजारमा वितरण गर्ने गरेका छन् । हाल बजारमा प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार ९१० रुपियाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार