बुध, जेष्ठ २०, २०८३

भौरमपुरका आगलागी पीडित स्वास्थ्य शिविरबाट लाभान्वित: सांसद खनालको निरन्तर पहल

पुरुषोत्तम सुवेदी

नवलपरासी,  । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ५, भौरमपुरका आगलागी प्रभावित परिवारहरू गाउँमै शनीबार  आयोजित एक दिवसीय निःशुल्क स्वास्थ्य शिविरबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। आगलागीका कारण स्वास्थ्य समस्या र मानसिक तनावमा रहेका पीडितहरूलाई तत्काल स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यो शिविर आयोजना गरिएको हो।

प्रतापपुरमा रहेको महिमा फार्मेसी र समाजसेवी एवं वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. सुवास चन्द्र चौधरीको विशेष सहजीकरणमा सो शिविर सम्पन्न भएको हो। शिविरमा डा. अजय कुर्मीसहितको दक्ष प्राविधिक स्वास्थ्यकर्मीहरूको टोलीले प्रभावित परिवारहरूको विस्तृत स्वास्थ्य परीक्षण गरेको थियो।

परीक्षणका साथै बिरामीहरूलाई आवश्यक पर्ने विभिन्न प्रकारका औषधिहरू समेत पूर्ण रूपमा निःशुल्क वितरण गरिएको थियो। विषम परिस्थितिमा घरदैलोमै विशेषज्ञ चिकित्सकसहितको प्राविधिक टोलीबाट भरपर्दो उपचार र औषधि पाएपछि प्रभावित परिवारहरूले निकै खुसी व्यक्त गर्दै राहत महसुस गरेका छन्।

संघीय सरकार उदासीन, सांसद खनालको निरन्तर पहल

भौरमपुरमा आगलागी भएको लामो समय बितिसक्दा पनि संघीय सरकारको तर्फबाट हालसम्म राहत र पुनःस्थापनाका लागि कुनै पनि ठोस पहल हुन सकेको छैन। सरकारको तर्फबाट उपेक्षा भइरहेका बेला यस क्षेत्रबाट निर्वाचित सांसद विक्रम खनालको पहलमा पीडितहरूलाई निरन्तर सहयोग भइरहेको छ।

यसअघि पनि सांसद खनालकै विशेष सक्रियता र पहलमा अग्निपीडितहरूलाई लक्षित गरी विभिन्न अत्यावश्यक राहत सामग्रीहरू उपलब्ध गराइएको थियो।

पीडित परिवारलाई हालसम्म पनि केन्द्र सरकारले राहत नदिएपछि केही दिन अघि मात्रै सांसद खनालले संसद्‌मा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल विशेष राहत प्याकेज ल्याउन माग गर्नुभएको थियो। सरकारी राहतको पर्खाइमा रहेका पीडितहरूका लागि स्थानीय स्तरबाट डाक्टर चौधरी, डा. कुर्मी र महिमा फार्मेसी जस्ता सहयोगी हातहरूले चालेको यो कदम निकै प्रसंशनीय बनेको स्थानीयबासी बताउँछन्।

तस्वीर   /     निःशुल्क स्वास्थ्य शिविर ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार