पुरुषोत्तम सुवेदी
सीमा सुरक्षामा अहोरात्र खटिने सशस्त्र प्रहरी बल पछिल्लो समय सीमावर्ती बस्तीका बासिन्दासँगको सम्बन्धलाई फरक ढंगले गाँस्न थालेको छ। केवल सीमाको पहरेदारी र सुरक्षा जाँचमा मात्र सीमित नरही सीमा क्षेत्रका युवा समूहलाई प्रत्यक्ष सीपसँग जोड्दै आत्मनिर्भर बनाउन सशस्त्र प्रहरी अग्रसर बनेको हो।
यसैक्रममा पश्चिम नवलपरासीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वार्टरले जिल्लाको पाल्हीनन्दन गाउँपालिकासँगको सहकार्यमा सीमावर्ती गाउँका युवाहरूका लागि केश कर्तक (कपाल काट्ने) तालिम सञ्चालन गरिरहेको छ। ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत सञ्चालित यो तालिममा सीमा नाकासँग जोडिएका वडाहरूका १५ जना स्थानीय युवाहरूको सहभागिता रहेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी उपरीक्षक गोविन्द बहादुर खातीका अनुसार विगतमा सीमा सुरक्षा र गस्तीका क्रममा मात्र भेटिने प्रहरी अहिले गाउँले युवाका हातमा व्यावसायिक सीप थपिदिने सहयात्री बनेको छ । तालिममा सहभागीहरूलाई कपाल काट्ने आधारभूत सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यासमार्फत दक्ष बनाइँदै छ । सशस्त्र प्रहरी गण परिसरमै सञ्चालित तालिम पूरा गरेपछि सहभागीहरूले आफ्नै गाउँ-ठाउँमा व्यवसाय सुरु गरी स्वरोजगार बन्ने र स्थानीय स्तरमै आयआर्जनका अवसर सिर्जना हुने विश्वास लिइएको छ।

वर्दीधारी र सर्वसाधारणबीचको दूरी घटाउँदै आपसी विश्वास, सद्भाव र सहकार्य बढाउन यो प्रयास निकै प्रभावकारी देखिएको छ। सीमा क्षेत्रका युवाहरू आर्थिक रूपमा सशक्त र आत्मनिर्भर बन्दा सीमा सुरक्षामा समेत उनीहरूको अपनत्व र सहभागिता स्वतः वृद्धि हुने अनुभव सुरक्षा निकायको छ।
सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सशस्त्र प्रहरीले आगामी दिनमा पनि सीमावर्ती युवाहरूको हित, सीप विकास र जनचेतनामूलक यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। हतियार र सुरक्षा घेराभन्दा माथि उठेर युवाहरूलाई आत्मनिर्भरतातर्फ डोर्याउने यस्ता अभ्यासले सीमा क्षेत्रका बस्तीहरूमा सकारात्मक सामाजिक रूपान्तरणको नयाँ सम्भावना देखाइदिएको छ ।
तस्बिर : तालिममा स्थानीय युवाहरूको सहभागिता ।
