पुरुषोत्तम सुबेदी
तराईमा विगत केही दिनदेखि ह्वात्तै बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई राहत दिन सक्रियता देखाएको छ।
चोक-चोकमा आगो ताप्ने व्यवस्था
नगरपालिकाले नगरका मुख्य चोक, चौतारा र सार्वजनिक स्थानहरूमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ। पहिलो चरणमा बढी आवतजावत हुने स्थानहरूमा दाउरा पुर्याइएको र नगरका अन्य सबै वडा तथा आवश्यक स्थानहरूमा यो क्रम विस्तार गरिने नगरपालिकाले जनाएको छ।
चिसोले विशेषगरी विपन्न परिवार, वृद्धवृद्धा र बालबालिकालाई बढी असर पुर्याउने हुँदा हामीले तत्कालै दाउरा वितरणको काम सुरु गरेका हौँ। नगर प्रमुख एवं विपद् व्यवस्थापन समिति संयोजक धनपत यादवले नगरवासीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। उहाँले भन्नुभयो कोही पनि नगरवासीले चिसोका कारण कष्ट भोग्नु नपरोस् भनेर हामी सचेत छौँ र अन्य राहतका प्याकेज पनि ल्याउँदैछौँ।”
“नगरपालिकाले दाउरा वितरणसँगै अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यानो कपडा प्रदान गर्ने निर्णय गरेको छ। त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले प्रशासनिक रूपमा विपद् व्यवस्थापनका सबै संयन्त्रलाई परिचालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो: हामी स्वास्थ्य शाखामार्फत पनि चिसोबाट लाग्ने रोगहरू न्यूनीकरणका लागि तयारी अवस्थामा छौँ।

विशेष लक्षित वर्गलाई न्यानो कपडा
नगरपालिकाले केवल दाउरा मात्र नभई, चिसोबाट बढी जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिचान गरी न्यानो कपडा वितरण गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ।
