शुक्र, बैशाख ४, २०८३

नेपाली बक्सिङमा नवलपरासीका दिपेश शर्माको लोभलाग्दो फड्को: खेलाडीदेखि अन्तर्राष्ट्रिय रेफ्रीसम्म

 

पुरुषोत्तम सुवेदी

नेपाली बक्सिङ क्षेत्रमा नवलपरासी (सुस्ता पश्चिम) का दिपेश शर्मा एक उदीयमान र बहुआयामिक नामका रूपमा स्थापित भएका छन्। सन् २०१० बाट ललितपुरबाट बक्सिङको यात्रा सुरु गरेका शर्माले अहिले खेलाडी, प्रशिक्षक र निर्णायक (रेफ्री) गरी तीनवटै विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जिल्लाको शिर उच्च बनाएका छन्।

जिल्लाकै पहिलो बक्सिङ क्लबको स्थापना

शर्माले सन् २०२२ मा नवलपरासीकै इतिहासमा पहिलो पटक ‘परासी बक्सिङ क्लब’ स्थापना गरी ग्रामीण क्षेत्रका युवाहरूलाई बक्सिङमा आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। लामो समयको अन्तरालपछि नवलपरासीलाई राष्ट्रिय स्तरको रिङमा फर्काउँदै उनले जिल्लाका लागि दुईवटा पदक समेत दिलाउन सफल भएका छन्।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व

नेपाली बक्सिङलाई विश्व मानचित्रमा जोड्ने क्रममा शर्माले थाइल्याण्डमा आयोजित विश्व बक्सिङ काउन्सिल (WBC) को कन्भेन्सनमा नेपालबाट पहिलो पटक प्रतिनिधित्व गर्दै इतिहास रचेका थिए। हालै सन् २०२५ मा अमेरिकामा सम्पन्न विश्व बक्सिङ एसोसिएसन (WBA) को कन्भेन्सनमा समेत सहभागी भई उनले नेपाली बक्सिङको गरिमा बढाएका छन्।

अनुभवी रेफ्री र प्रशिक्षकको पहिचान

राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा ‘ए-लेभल’ रेफ्रीको रूपमा कार्यरत शर्मा काठमाडौंमा आयोजित व्यावसायिक बक्सिङ प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने नवलपरासीका पहिलो व्यक्ति हुन्। उनले अन्तर-सेना बक्सिङ प्रतियोगितामा निर्वाह गरेको उत्कृष्ट जिम्मेवारीका लागि नवलपरासी बक्सिङ संघले उनलाई ‘सर्वोत्कृष्ट रेफ्री’ बाट सम्मान समेत गरिसकेको छ।

हाल बेयरफुट मार्शल आर्ट्स एकेडेमीमा मुख्य प्रशिक्षकको रूपमा कार्यरत शर्माले बंगलादेशमा आयोजित व्यावसायिक बक्सिङ च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक तथा म्यानेजरको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

नेतृत्वदायी भूमिका

नवलपरासी बक्सिङ संघको उपाध्यक्ष तथा म्याक्स बक्सिङ प्रमोशनको सदस्य रहेका शर्मा हाल सरकारी स्तरबाट नियुक्त विद्यालयस्तरीय बक्सिङ प्रशिक्षकका रूपमा पनि सक्रिय छन्। उनी भन्छन्, “नेपाली बक्सिङमा व्यावसायिकता भित्र्याउन र मोफसलका प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउनु मेरो मुख्य लक्ष्य हो।”

अल्पायुमै बक्सिङमा पुर्‍याएको यो योगदानले दिपेश शर्मालाई नेपालको खेलकुद क्षेत्रमा एक सफल र उर्जावान् व्यक्तित्वको रूपमा स्थापित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार