आइत, साउन ३, २०८३

बर्दघाटमा विद्युत प्राधिकरण विरुद्ध उर्लिए युवा: अघोषित लोडसेडिङ तत्काल बन्द गर्न चेतावनी, नसच्चिए आन्दोलनको घोषणा

पुरुषोत्तम सुवेदी  

पश्चिम नवलपरासीको बर्दघाट क्षेत्रमा भइरहेको चरम र अघोषित लोडसेडिङको विरोधमा स्थानीय युवाहरू आन्दोलित भएका छन्। बिना कुनै पूर्व सूचना दैनिक रूपमा पटक-पटक बत्ती जाने र आउने (ट्रिमिंग) समस्याले आजित भएका नागरिकहरूले नेपाल विद्युत प्राधिकरणको बर्दघाट वितरण केन्द्रलाई घेराउ गर्दै ध्यानाकर्षण पत्र बुझाएका छन्।

बर्दघाटका लागि युवा अभियान” को अगुवाइमा बुझाइएको उक्त पत्रमा प्राधिकरण जस्तो जिम्मेवार निकाय उपभोक्ताको सास्तीप्रति मूकदर्शक बनेको आरोप लगाइएको छ।

गर्मीमा नागरिकलाई सास्ती, उद्योग र विद्यार्थी मारमा

यो चर्को गर्मीको मौसममा लामो समयसम्म विद्युत अवरुद्ध हुँदा बर्दघाट क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको छ। विद्युत अनियमितताका कारण स्थानीय उद्योग-व्यवसाय, स्वास्थ्य संस्थाहरूको सेवा प्रवाह र विशेष गरी विद्यार्थीहरूको अध्ययनमा निकै ठुलो र नकारात्मक असर परेको अभियानले जनाएको छ। “राज्यलाई नियमानुसार महसुल बुझाउँदा बुझाउँदै पनि उपभोक्ताले पाउनुपर्ने न्यूनतम अधिकारबाट बञ्चित हुनुपर्नु दुःखद कुरा हो,” ध्यानाकर्षण पत्रमा भनिएको छ।

“सीमा नाघेपछि प्राधिकरण पुग्न बाध्य भयौँ” – अभियन्ता किशोर गैरे

बर्दघाटमा लामो समयदेखि भइरहेको यो समस्याले सीमा नाघेकाले युवाहरू सडक र प्राधिकरणसम्म पुग्न बाध्य भएको अभियन्ताहरूले बताएका छन्। अभियन्ता किशोर गैरेले भने— “नियमित महसुल बुझाउने उपभोक्तामाथि प्राधिकरणले चरम लापरवाही गरेको छ। यो चर्को गर्मीमा बिना सूचना घण्टौँ बत्ती काट्दा सर्वसाधारणको बिजोग भएको छ। न त उद्योग चल्न सकेका छन् न त बालबालिकाले पढ्न नै पाएका छन्। यदि प्राधिकरणले हाम्रा मागहरूलाई वेवास्ता गरेर आफ्नो ढिलासुस्ती कायम राखेमा हामी बर्दघाटका युवा र आम उपभोक्ता मिलेर थप कडा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुनेछौँ।”

यी हुन् युवाहरूका ४ बुँदे मुख्य मागहरू:

विद्युत आपूर्तिलाई तत्काल नियमित र गुणस्तरीय बनाउन माग गर्दै बुझाइएको पत्रमा ४ वटा मुख्य बुँदाहरू समेटिएका छन्:

  • लोडसेडिङको अन्त्य: बर्दघाट क्षेत्रमा भइरहेको अघोषित लोडसेडिङ तत्काल पूर्ण रूपमा बन्द गरिनुपर्ने।
  • पूर्व सूचना अनिवार्य: प्राविधिक गडबडीका कारण बत्ती काट्नुपर्ने भएमा अनिवार्य रूपमा सर्वसाधारणलाई पूर्व सूचना दिनुपर्ने।
  • प्राविधिक सुधार: ट्रान्सफर्मर, फ्युज सेवा र वितरण प्रणालीमा रहेका कमजोरीहरूलाई तत्काल मर्मत-सम्भार गरिनुपर्ने।
  • हेल्प डेस्क स्थापना: उपभोक्ताको गुनासो तत्काल सुन्न र समाधान गर्न ‘हेल्प डेस्क’ र ग्राहक सेवालाई थप प्रभावकारी र जबाफदेही बनाउनुपर्ने।

“प्राधिकरण नसच्चिए थप कडा आन्दोलन गर्छौँ” – अभियन्ता सागर गैरे

त्यस्तै, अभियानका अर्का अभियन्ता सागर गैरेले प्राधिकरणको ढिलासुस्ती र बेवास्ताप्रति कडा आपत्ति जनाउँदै अब युवाहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

अभियन्ता गैरेले भने— “हामीले आज शान्तिपूर्ण रूपमा ध्यानाकर्षण गराएका छौँ। यो हाम्रो चेतावनी पनि हो। यदि प्राधिकरणले हाम्रा ४ बुँदे मागहरूलाई तत्काल सम्बोधन गरेन र आफ्नो कार्यशैली सुधारेन भने हामी बर्दघाटका युवा र आम उपभोक्ता मिलेर प्राधिकरण विरुद्ध थप कडा र सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुनेछौँ।”

युवाहरूले प्राधिकरणको तर्फबाट तत्काल सकारात्मक कदमको अपेक्षा राखेका छन्। मागहरू वेवास्ता गरिएमा थप सशक्त विरोधका कार्यक्रमहरू सार्वजनिक गरिने चेतावनी समेत उपभोक्ताहरूले दिएका छन्।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार