पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सामुदायिक विद्यालयहरूमा सञ्चालित स्थानीय उत्पादनमा आधारित दिवा खाजा व्यवस्थापन कार्यक्रमलाई थप प्रभावकारी बनाउन अनुगमन गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल सहितको टोलीले विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन गर्नुका साथै खाजाको गुणस्तर र व्यवस्थापनमा सुधारका लागि विद्यालय प्रशासनसँग छलफल गरेको हो।
सामाजिक विकास समितिको संयोजकत्वमा गरिएको अनुगमनका क्रममा सुनवल वडा नं. ७ मा रहेका जनज्योति आधारभूत विद्यालय (ज्यामिरे) र जनजागृति आधारभूत विद्यालय (तरगौली) तथा वडा नं. ८ मा रहेका अमरज्योति आधारभूत विद्यालय (बैरागनाथ) र अरनीको मावि (अरनीकोबस्ती) को दिवा खाजा कार्यक्रमको निरीक्षण गरिएको थियो।

स्थानीय उत्पादनमा जोड
नगर प्रमुख बिमला अर्यालले दिवा खाजा कार्यक्रमलाई बालबालिकाको पोषण सुधार सँगै स्थानीय कृषकको उत्पादन र कृषि अर्थतन्त्रसँग जोड्न जोड दिनुभयो ।खाजाको मेनुमा स्थानीय स्तरमै उत्पादन हुने पोषणयुक्त खाद्यवस्तु समावेश गर्न र कार्यक्रमको व्यवस्थापनमा स्वच्छता तथा गुणस्तर कायम गर्न नगरपालिकाको विशेष जोड रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
सुधारका लागि छलफल
अनुगमनपछि विद्यालय प्रशासनसँग भएको छलफलमा दिवा खाजाको नियमितता, खाजा बनाउने भान्सेको तालिम, आवश्यक पूर्वाधारको व्यवस्थापन तथा विद्यालय व्यवस्थापन समितिको सक्रियता जस्ता पक्षमा सुधार ल्याउने प्रयासबारे छलफल गरिएको थियो। सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमको प्रभावकारिता वृद्धि गरी बालबालिकाको सिकाइस्तर र विद्यालयमा उपस्थिति बढाउनु नगरपालिकाको प्राथमिकता रहेको निष्कर्ष निकालिएको छ।

यो अनुगमनले सामुदायिक विद्यालयहरूमा दिवा खाजा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र गुणस्तर सुनिश्चित गर्न नगरपालिकाले महत्त्व दिएको स्पष्ट पारेको छ।
