नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सञ्चालित कुमुदिनी इङ्लिस सेकेण्डरी स्कूलका संस्थापक /सञ्चालक धीरज शर्मा बस्याल ‘राष्ट्रिय शिक्षा सम्मान-२०८३’ बाट सम्मानित भएका छन ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा शनिबार आयोजित एक विशेष समारोहका बीच बस्याललाई उक्त सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पूर्व शिक्षा मन्त्री, सांसद तथा नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह के.सी. र फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले बस्यालकी पारिवारिक सदस्य (बुहारी )आकृति पाण्डे बस्याल लाई संयुक्त रूपमा सम्मान पत्र हस्तान्तरण गरेका हुन ।
शिक्षा क्षेत्रमा लामो समयदेखि पुर्याएको विशिष्ट योगदानको उच्च कदर गर्दै फोकस नेपाल संस्थाले उनलाई उक्त सम्मान प्रदान गरेको हो ।२०५३ साल देखि बस्याल शिक्षा क्षेत्रमा अग्रसर हुँदै आएका छ्न ।
सम्मान बारे खुसी व्यक्त गर्दै बस्यालले यस सम्मानले शिक्षा क्षेत्रमा अझ बढी जिम्मेवार र निष्ठावान् भएर लाग्न थप ऊर्जा र प्रेरणा मिलेको बताए ।यो सम्मान आफ्ना लागि मात्रै नभै विद्यार्थी अविभावक र शैक्षिक क्षेत्रको समेत रहेको रहेको बस्यालले बताए ।
काठमाडौँको पुतलीसडकस्थित हिउँ गल्लीमा मुख्य कार्यालय रहेको सामाजिक संस्था फोकस नेपालले”विद्याधनं सर्वधनं प्रधानम्” भन्ने मूल नाराका साथ उक्त विशेष समारोह सम्पन्न गरेको हो।
