पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा भान्सालाई धुँवामुक्त बनाउँदै स्थानीयवासीको स्वास्थ्य सुरक्षा र वातावरण संरक्षण गर्ने उद्देश्यका साथ सुधारिएको चुलो वितरण अभियान सुरु गरिएको छ। हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहकार्यमा रामग्राम नगरपालिकाभित्रका कुल ६०० लक्षित घरपरिवारलाई सुधारिएको चुलो वितरण गर्ने लक्ष्य राखिएको छ ।
जसमध्ये नगरका वडा नम्बर १४ र १५ मा गरी हालसम्म २०० घरपरिवारलाई सुधारिएको चुलो हस्तान्तरण गरिसकिएको नगरपालिकाका प्रशासकीय अधिकृत खेमराज ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी रहेका ४०० लक्षित घरपरिवारहरूलाई पनि क्रमश: चुलो वितरण गर्दै जाने प्रक्रिया तीव्रताका साथ अघि बढाइएको छ।
यो कार्यक्रम चारपक्षीय लागत सहभागितामा सञ्चालित छ। जसमा हरित जलवायु कोष (विदेशी दातृ निकाय) को ४० प्रतिशत, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ४० प्रतिशत, रामग्राम नगरपालिकाको १५ प्रतिशत र लाभग्राही स्वयंको ५ प्रतिशत आर्थिक लगानी रहेको छ ।

रामग्राम नगरपालिकाका नगर प्रमुख, धनपत यादवले भन्नुभयो “भान्सालाई धुँवामुक्त बनाउँदै विशेष गरी महिला र बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि यो कार्यक्रम नगरभित्र लागू गरिएको हो। परम्परागत चुलोको तुलनामा सुधारिएको चुलोले दाउराको खपत घटाउने, समय र श्रमको बचत गर्ने र धुँवा कम भई स्वास्थ्य एवं वातावरण संरक्षणमा ठूलो योगदान पुर्याउनेछ।”
रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भुपेन्द्र पाण्डेयले भन्नुभयो “हरित जलवायु कोष र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको साझेदारीमा पालिकाको १५ प्रतिशत लागत सहभागितासहित यो कार्यक्रम अघि बढाइएको छ। वडा नम्बर १४ र १५ का २०० घरपरिवारलाई चुलो वितरण भइसकेको छ भने बाँकी लक्षित घरपरिवारलाई पनि छिट्टै चुलो उपलब्ध गराइनेछ।”

नगरपालिकाले सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएका वर्गलाई प्राथमिकतामा राखेर प्रतिघरपरिवार एक-एक थान सुधारिएको चुलो उपलब्ध गराउँदै आएको छ। जसअन्तर्गत एकल महिला, महिला गृहमुली रहेका परिवार, पति बेपत्ता भएका वा सम्बन्ध विच्छेद भएका महिला, आदिवासी जनजाति, अपाङ्गता भएका व्यक्ति तथा अन्य अति विपन्न र सीमान्तकृत वर्गका परिवार रहेका छन्।
