पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी,। पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले रसुवा हुँदै आएको भीषण बाढीका कारण प्रभावित भएका नागरिकहरूको राहत तथा उद्धारका लागि रु. २ लाख ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले उक्त बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने गरी सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

नगरप्रमुख धनपत यादवका अनुसार नगरपालिकाको आफ्नै विपद् व्यवस्थापन कोषबाट रु. २,५१,००० (दुई लाख एकाउन्न हजार रुपैयाँ) राष्ट्रिय विपद् व्यवस्थापन कोषमा जम्मा गरिने छ । यस सहयोगले विपद्को यस घडीमा बाढी प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका कार्यमा टेवा पुग्ने विश्वास नगरपालिकाले लिएको छ ।
यता , देशमा घटेको दुःखद प्राकृतिक प्रकोपको घटनाबाट प्रभावितहरूका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धीरज शर्मा बस्यालले व्यक्तिगत तर्फबाट रु. २५ हजार नगद सहयोग गर्नुभएको छ। विपत्तिको यस कठिन घडीमा पीडितहरूलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले उहाँले राहत कोषमा उक्त रकम जम्मा गर्नुभएको हो ।
स्थानीयस्तरमा विकास र सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएका बस्यालको यो सहयोगले विपत्तिको समयमा राहत र उद्धारमा थप बल पुग्ने र अन्य व्यक्तिहरूलाई पनि सहयोगका लागि प्रेरित गर्ने विश्वास लिइएको छ।
