पुरुषोत्तम सुवेदी
विद्यार्थी राजनीतिदेखि समाजसेवासम्मको जग
आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ मा शुसिल गुरुङ उम्मेदवार बनेका छन् । विद्यार्थी राजनीतिबाट खारिएका अनुभवी संगठक र समर्पित समाजसेवीका रूपमा परिचित गुरुङ यस क्षेत्रका मतदातामाझ आशालाग्दो अनुहारका रूपमा प्रस्तुत भएका छन् ।
तीन दशकको राजनीतिक विरासत
२०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यबाट राजनीतिक यात्रा सुरु गरेका गुरुङले नेतृत्वको सिँढी क्रमशः उक्लिएका हुन् । २०५७ सालमा भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापति र २०६१ मा नेविसंघ रुपन्देहीको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालेका उनले २०६२/०६३ को जनआन्दोलनमा समेत अग्रपंक्तिमा रहेर लोकतन्त्रका लागि संघर्ष गरेका थिए ।
पार्टी संगठनमा उनको पकड उत्तिकै मजबुत देखिन्छ । १२औँ र १३औँ महाधिवेशनमा क्षेत्रीय सचिव रहेका गुरुङ हाल नेपाली काँग्रेस रुपन्देही क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापति हुन् ।

समाजसेवा र मानवीय कार्यमा अग्रणी
राजनीतिसँगै गुरुङको सामाजिक पहिचान पनि उत्तिकै प्रखर छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको जिल्ला उपसभापति र रक्त सञ्चार सेवा समितिको संयोजकका रूपमा उनले मानवीय सेवामा लामो समय बिताएका छन् । सिद्धार्थ जेसिजको पूर्व अध्यक्ष र लायन्स क्लबको नेतृत्वदायी भूमिकामा रहेर उनले युवा नेतृत्व विकास र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका छन् ।
शिक्षा सुधारका अभियन्ता
शिक्षा क्षेत्रको सुधारलाई मुख्य प्राथमिकता दिँदै आएका गुरुङले पक्लिहवा माध्यमिक विद्यालयको दुई पटक व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रीय सदस्य र सिद्धार्थनगर नगरपालिकाको शिक्षा समिति सदस्यका रूपमा उनले सामुदायिक शिक्षाको गुणस्तर वृद्धिका लागि ठोस काम गर्दै आएका छन् ।
मुख्य एजेन्डा: विकास र सुशासन
उम्मेदवार गुरुङले यस पटकको निर्वाचनमा शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र सुशासनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन् । “लामो समय संगठन र समाजसेवामा बिताएको अनुभवलाई अब यस क्षेत्रको नीति निर्माण र समग्र विकासमा लगाउने मेरो संकल्प छ,” गुरुङले बताए ।
विद्यार्थी जीवनदेखि नै भुईँ तहका मानिसहरूसँग जोडिएका र निष्कलंक छवि भएका कारण यस पटक क्षेत्र नम्बर ३ मा गुरुङको पक्षमा बलियो माहोल सिर्जना हुने विश्लेषण गरिएको छ ।
