मङ्ल, बैशाख ८, २०८३

चौपत्ता सहिद सामुदायिक अस्पतालमा  डायलिसिस सेवा  सञ्चालनमा आउने:

 

 पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासीको बर्दघाट, चौपत्तास्थित सहिद सामुदायिक अस्पतालमा डायलिसिस सेवा चाँडै सञ्चालनमा आउने गरी तयारी  भएको छ। यस सेवाको सुरुवातपश्चात् जिल्लाका मिर्गौला पीडित बिरामीहरूले उपचारका लागि टाढाका शहरहरू (बुटवल, चितवन वा काठमाडौँ) जानुपर्ने बाध्यताको अन्त्य भई स्थानीय स्तरमै सर्वसुलभ सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

अस्पतालमा डायलिसिस सेवा सञ्चालनका लागि आवश्यक मेसिन, उपकरण र अन्य प्राविधिक व्यवस्थापनको काम लगभग पूरा भइसकेको  छ। जर्मन रोटरी र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा यसअघि अस्पताललाई ६ वटा हेमोडायलिसिस मेसिनसमेत हस्तान्तरण गरिएको थियो।

तयारी अन्तर्गत सरोकारवालाहरु सहितको अस्पताल संचालक समितीको टोलीले धुलिखेल सामुदायिक अस्पताल पुगेर  डायलिसिस सेवाको गुणस्तर सुनिश्चित गर्न र प्राविधिक सहयोगका लागि छलफल गरेको हो  ।

डायलिसिस सेवाको गुणस्तर सुनिश्चित गर्न र प्राविधिक सहयोगका लागि सहिद सामुदायिक अस्पतालले काभ्रेको धुलिखेल सामुदायिक अस्पतालसँग यसअघि नै सेवा सञ्चालन सम्बन्धी सम्झौता गरिसकेको छ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार अब केही समयभित्रै धुलिखेल सामुदायिक अस्पतालको प्राविधिक सहयोगमा सहिद सामुदायिक अस्पतालमा डायलिसिस सेवा सञ्चालनमा आउनेछ।

बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले भन्नुभयो, “धुलिखेल सामुदायिक अस्पतालको प्राविधीक सहयोगमा अब चाडै नै डायलायसिस सेवा संचालनमा ल्याउने तयारी पुरा भएको छ। यसले पश्चिम नवलपरासीका मृगौला पीडितलाई ठूलो राहत दिनेछ।”

 

डायलिसिस सेवाका लागि हाल जिल्लाभर करिब २५० भन्दा बढी मिर्गौला पीडितहरू बुटवल, भैरहवा, चितवन, वा काठमाडौँलगायतका स्थानमा धाउन बाध्य छन्। यो सेवा सञ्चालन भएपछि उनीहरूको त्यो बाध्यता हट्नेछ।

प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले स्थानीय स्तरमै डायलिसिस सेवा सुरु भएपछि पश्चिम नवलपरासीका आम बिरामीहरूलाई भौतिक, आर्थिक र मानसिक रूपमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

निवर्तमान् संघीय सांसद एवं उद्योगपति बिनोद चौधरीले चौपत्तास्थित सहिद सामुदायिक अस्पतालमा डायलिसिस सेवा सञ्चालनका लागि आवश्यक सरोकारवाला निकायहरू र दाताहरूका बीचमा सहजीकरण गर्दै आउनुभएको थियो।

यस सेवाको सञ्चालनले सहिद सामुदायिक अस्पताललाई पश्चिम नवलपरासीको एउटा महत्वपूर्ण स्वास्थ्य केन्द्रका रूपमा स्थापित गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ।

पुरुषोत्तम सुबेदीको रिपोर्ट

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार