शुक्र, बैशाख ४, २०८३

कोलिय गणराज्यको राजधानी उत्खननमा भेटिए प्राचीन संरचना, ४० विद्यार्थी सम्मानित

 

पुरुषोत्तम सुबेदी

पश्चिम नवलपरासीस्थित सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) मा भइरहेको पुरातात्विक उत्खनन कार्यले प्राचीन शहरका भग्नावशेष र पूर्वाधारहरू भेट्टाउन थालेपछि उत्साह छाएको छ। उत्खनन कार्यमा सहभागी त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका ४० जना स्नातकोत्तर तहका विद्यार्थीहरूलाई आईतबार ‘संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासी’ ले सम्मान गरेको हो।

प्राचीन संरचना र ६०० ईसा पूर्वको प्रमाण

पुरातत्वविद् भास्कर ज्ञवालीको नेतृत्वमा गत कार्तिक २४ गतेदेखि उत्खनन टोलीले काम गरिरहेको छ। विगत वर्षहरूमा गरिएको भूभौतिक सर्वेक्षणको प्रतिवेदनका आधारमा गरिएको उत्खननमा प्राचीन इनार र इनार नजिकैका भवनका पूर्वाधारहरू फेला परेका छन्।

उत्खननकर्ताहरूका अनुसार भेटिएका बस्तीको पर्खाल र इँट कुषाणकालको हुन सक्ने अनुमान छ। सबैभन्दा महत्त्वपूर्ण तथ्य, उत्खनन टोलीले यहाँ भेटिएका सामग्रीहरूको कार्बन डेटिङ (समय परीक्षण) गर्दा ती वस्तुहरू ईसा पूर्व ६०० वर्ष पुराना रहेको पुष्टि भएको छ। यसले उक्त स्थान कोलिय गणराज्यको राजधानी भएको तथ्यलाई थप बल पुर्‍याएको छ। पुरातत्वविद्हरूको अनुमानमा यो प्राचीन राजधानी क्षेत्र करिब ३६०० वर्गमिटर मा फैलिएको छ।

– पुरातत्व टोलीका सहयोगी नारद यादवका अनुसार  “कार्बन डेटिङले बुद्ध जन्मनु पूर्वकालका सामग्री देखाएको छ। यसले कोलिय गणराज्यको राजधानी भएको पुष्टि गर्छ।”

विद्यार्थी र प्राध्यापक सम्मानित

उत्खनन कार्यमा खटिएका दुवै विश्वविद्यालयका ४० जना पुरातत्व विषयका विद्यार्थीलाई संस्कृति सम्पदा संरक्षण महाभियानले सम्मान गरेको हो। प्राचीन संस्कृति र सम्पदाको संरक्षणमा योगदान पुर्‍याएको भन्दै विद्यार्थीहरूसँगै रहेका प्राध्यापक तथा यो स्थल खोजी कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने पुरातत्वका जानकार नारद यादव लाई समेत सम्मान गरिएको महाभियानका संयोजक अनिल शर्माले बताउनुभयो।

नागरिक स्तरबाट संरक्षणको आह्वान

सम्मान कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागका प्रमुख डा. महेश आचार्यले स्थानीय नागरिकलाई आफ्नो इतिहास, परम्परा, संस्कार र पुरातात्विक स्थलहरूलाई ‘गहना’ सम्झेर जोगाएर राख्न आह्वान गर्नुभयो। उहाँले हतारमा उत्खनन गर्दा पुरातात्विक वस्तु नष्ट हुन सक्ने हुँदा स्थानीयले धैर्य राख्नुपर्नेमा जोड दिनुभयो।

महाअभियानका संयोजक अनिल शर्माले जनप्रतिनिधिहरू उदासिन देखिएको हुँदा नागरिक स्तरबाटै संस्कृति र सम्पदाको संरक्षणका लागि यो अभियान चलाइएको बताउँदै सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो। यो अभियानमा नागरिक समाज नवलपरासी र परासी प्रेस क्लबले सहकार्य गरिरहेका छन्।

धार्मिक पर्यटनको केन्द्रविन्दु

कोलनगर क्षेत्र भगवान गौतम बुद्धलाई जन्म दिने आमा महामाया, पालनपोषण गर्ने प्रजापति गौतमी, र बुद्धत्व प्राप्तिका लागि सहज सहयोग गर्ने पत्नी यशोधरा को जन्मस्थल भएकाले यो संसारभरका बौद्धमार्गीहरूका लागि एक अत्यन्तै महत्त्वपूर्ण धार्मिक स्थल हो। कोलिय राजाहरूले स्थापना गरेको रामग्राम स्तुप लाई अहिलेसम्म मौलिक स्तुप को रूपमा बचाई राख्नमा कोलियहरूको ठूलो योगदान रहेको मानिन्छ। यसको खोज तथा प्रचारप्रसारले यस क्षेत्रको धार्मिक पर्यटनलाई ठूलो टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

तस्बिर- ‘संस्कृति सम्पदा संरक्षण महाभियान नवलपरासी’ ले आयोजना गरेको सम्मान    कार्यक्रम  ।

 

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार