अगुवा महिला तथा अभियन्ताहरूलाई नेतृत्व विकास तालिम
दिनेश ठाकुर
नेपालगन्ज । महिला हिंसाविरुद्ध समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नेपालगन्जमा अगुवा महिला तथा अभियन्ताहरूका लागि तीनदिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ।
टेवा, ललितपुरको सहयोगमा तथा नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रको आयोजनामा सञ्चालित यो तालिममा बाँके जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, डुडुवा गाउँपालिका, र जानकी गाउँपालिकाबाट ३५ जना अगुवा महिला, अभियन्ता, र स्थानीय ग्रामीण महिला अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।
🎯 तालिममा उठाइएका मुख्य सवाल
तालिममा सहभागी महिलाहरूलाई राजनीतिमा महिलाहरूको पहुँच, अर्थपूर्ण सहभागिता, र नेतृत्वमा पहुँचको अवस्था तथा चुनौतीहरूबारे प्रशिक्षण दिइएको थियो। छलफलमा महिलाहरू समावेशी रूपमा प्रतिनिधित्व हुन नसक्नुका कारणहरू र नेतृत्वमा पहुँच नहुनुका चुनौतीहरूमाथि गहन अन्तरक्रिया भयो।
प्रशिक्षकका रूपमा नेपालगन्ज उपमहानगरपालिकाका वरिष्ठ महिला विकास अधिकृत पवित्रा कुमारी पुरी र मोहम्मद शेर बागवान रहनुभएको थियो। कार्यक्रमको सहजीकरण संस्थाका महिला सवाल टिम लिडर दुर्गा लखेर ले गर्नुभएको थियो भने राष्ट्रिय महिला अधिकार मञ्च बाँकेका अध्यक्ष सकिना शाह ले स्वागत मन्तव्य दिनुभएको थियो।

⚠️ ‘पुरुषत्व सोंच हाबी’: नेतृत्व स्वीकार्यतामा चुनौती
तालिमका सहभागीहरूले एक्काईसौं शताब्दीमा पनि महिला नेतृत्वलाई समाज र ‘पुरुषत्व सोंच हाबी भएका जमात’द्वारा स्वीकार्न चुनौती रहेको तीतो यथार्थ व्यक्त गरे।
सहभागीहरूबाट व्यक्त गरिएको धारणाअनुसार, महिला जनप्रतिनिधिलाई भेट्न वडा कार्यालय वा सम्बन्धित निकायमा जाँदा प्रायः भेट हुँदैन, तर उनीहरूको सट्टामा श्रीमान्सँग भेट हुने अवस्था छ। कतिपय ठाउँमा महिला जनप्रतिनिधि ‘घरमा हुनुहुन्छ’ वा ‘काम छ’ भन्ने जवाफ सुनिन्छ। यसले महिला नेतृत्व तहमा पाउनै गाह्रो हुनुका साथै यदि पाइहाले पनि समाजले सजिलै स्वीकार नगर्ने अवस्था रहेको सहभागीहरूको ठहर थियो।
निष्कर्षमा, समावेशिता कागजमा मात्र सीमित भएको र नामको मात्र समावेशिता रहेको अवस्था तथा चुनौतीहरू रहेको धारणा सहभागीहरूबाट सशक्त रूपमा व्यक्त गरियो।
